24/08/2026
तयामा, खियामा र खोचेलिप्पा(हेच्छाकुप्पा) रैछाकुले
नौलाख किराँती पुर्खा पातेसुङ र दाकोहँमाको घर होलेसुङ(हलेसी) गुफामा थियो। उनिहरुको दुई छोरी तयामा र खियामा अनि एक छोरा खोचेलिप्पा थियो। तर तिनैजना सन्तान सानैछदा आमा दाकोहँमा र बाउ पातेसुङको अकालमै मृत्यु भयो। टुहुरा बनेको नाना तोयामा, बहिनी खियामाले भाई हेच्छाकुप्पालाई दुख सुख गरेर हुर्काउदै आएको थियो।
तोयामा र खियामा तान बुन्न एकदम सिपालु थिए, एकदिन तान बुनी सकेर खाने अन्न टन्नै खोजि ल्याए। बेलुका अगेनामा आगो फुकेर बुछा(माटोको भाडा)मा भात बसाउदा भाई हेच्छाकुप्पा खुसीले अगेना वरिपरी गर्दै उफ्रि दिड्दा अगुल्ठो फेल्दिएर(उछिट्टिएर) बुछामा पाक्दै गरेको खाना घोप्टाइ पठायो। दिदिहरुले- खाना पोखाईस भन्दै कुटेपछी खोचेलिप्पा रुन थाल्यो र रुदारुँदै थकित भएर अगेना छेउमा भुसुक्कै निदायो। तोयामा खियामाले फेरी खाना पकाई, खुवाउन भनी भाई खोचेलिप्पालाई उठाउन खोज्दा भाई भोकसंगै रुवाईको थकानले सुतेको कारण ब्युझिएन।
नाना तयामा र बहिनी खियामाले सम्झे- "हामिले भाईलाई कुटेका थियौ मरि पो गएछ", भन्ठानेर घरदेखि केहिपर लगेर खाडलमा राखेर हरियो स्याउलाहरु संगै जाखीमाको पात ल्याई पातले छोपेर माथिबाट खुट्टाले कुल्चँदा कर्याक- कर्याक गरेर बज्यो। उनिहरुले सोचे भाइको हड्डि, हात खुट्टा सबै भाचियो।
अब भाईको मृत्यु बियोगले सोही ठाउमा दिदि बहिनी बसिरहन नसक्ने भनी उनिहरुले त्यो ठाउँ छोड्ने निधो गरे। त्यहाँबाट बाटोलागे आधाबाटोमा पुगेपछी बैनिले औल तिर जान जिद्दि गर्न थालो तर दिदि भने लेख जाऔँ भन्थिन, भने बहिनी बेँसी मधेस जाउ भन्थिन। आखेरि कुरा नमिले पछी दिदि बहिनि छुट्टिने निर्णय गरे।
उनिहरुले एक अर्काको खबर दिने चिनोको रुपमा लिम्चिबुङ फूल रोप्ने निर्णय गरे र दिदिले रोपेको फूल ओईलाए वा मरे बैनीले दिदि बिमारी वा दिदिलाई केही आपत विपद आइलाग्यो भनि भेट्न जाने र त्यस्तै बहिनिले रोपेको फूल ओईलाए वा मरे दिदिले बैनी बिमारी वा बैनीलाई केही आपत विपद आइलाग्यो भनि भेट्न जाने भनि बाचा गरी छुट्टिने सल्लाह गरे। बहिनी अलिक चन्चले भएकोले के कसो होला, आफ्नो ख्याल राख्नु, अरुलाई नजिस्काउनु है भनेर नाना तयामाले सम्झाई बुझाई गरी दिदि लेकतिर र बहिनी औँलतिर लागे। (छुट्टिँदा खेरी किराती लोक विश्वास अनुसारः दिदि हङ्ग्रायो र बहिनी धनेश भएर छुट्टीएको थियो।)
यता धेरै समय पछि हेच्छाकुप्पा ब्युँझदा आफ्नो नानाहरु नदेखेकोले वरीपरी खोजी, बेस्सरी रोई कराई नानाहरुलाई बोलायो तर नानाहरु देखिएन, धेरै समय सम्म दिदिहरुको खोजिनिती गरेपनि नभेटे पछी जिवन निरवाह गर्नेक्रममा उसले शिकार खेल्न, माछामार्ने जस्ता कार्यहरु गर्न थाले। एक दिन माछा मार्नेक्रममा नदिकिनारामा वाईलुङ्मा नाम गरेको सुन्दर कन्या संग हेच्छाकुप्पाको भेट भयो, बोलचाल भयो र विस्तारै- विस्तारै मायामा पर्न थाले संगै विवाहको कुरा पनि हुन थालो, तर दिदिहरु भेटेपछि विवाह गर्ने खोचेलिप्पाको ईच्छा भयो र दिदिहरुको खोजिमा लागे।
उता धेरै समय बितेपछि तयामा, खियामा जायजुम मालाथुम्कातिर आएर तान बुन्न थालिन। एक दिन तयामा र खियामाको वरीपरी एउटा भाले बास्न थाल्यो - "कुखुरी काँ खक्चिलिपु.." मरेको भाईको नाम लिएर भाले बास्न थालेको सुनेर दिदिहरु भालेलाई झट्टी हान्न थाले। भाले चाही बास्दै-बास्दै भाग्दै गयो, दिदिहरुले खेद्दै गए, अन्त्यमा आफ्नै भाईको घरमा पुगे। लामो समयसम्म विछोडिएका चेली माईतीको खुसियाली भेटमा खुसि मनाए र हेच्छाकुप्पा र वाईलुङ्माको विबाहको सुरसार गरियो। विबाहमा दिदिहरु तोयामा खियामाले विभिन्न सिली नाचहरु नाचे। छुट्टीन्ने बेलामा चिनोको रुपमा माईतीको शिर नढलोस भनी हङ्ग्रायो र धनेशको प्वाखहरु खोचेलिप्पाको शिरमा सिउरेर आशिर्बात दिदै माईतीको शिर उभ्याएर त्यहाबाट बिदा भए।।
बिस्तारै खोचेलिप्पा र वाईलुङ्माको जिबन यापन सुरु हुदै जादा वाईलुङ्मा एकदमै चलाख बाठी थियो त्यसैले उस्लाई घर बनाउने चाहाना जागेर आयो र खोचेलिप्पालाई खाबोँ काटेर ल्याउन लगाउदा खोचेलिप्पाले निदाल जस्तो सम्म काटेर ल्याएको थियो। त्यो देखेर वाईलुङ्माले त्यहिँ छेउमा बसिरहेको चिबे चराको पुच्छरलाई देखाउदै त्यस्तै खाल्को खाबोँ काटेर ल्याउन भन्छ र त्यसपछि घर बनाउन थाल्छन तर त्यहि घरबनाउने क्रममा खोचेलिप्पा र वाईलुङ्माको पहिलो सन्तान सानो नानी मुलखाबो गाड्दा अकस्मात खाल्टोमापरी खाबोँले किचिएर मृत्यु हुन्छ।
(त्यहि समयबाट किरात राई समुदायमा मुलखाबोँ गाड्दा भोग दिने चलन चलेको भन्ने गरिन्छ।)
घर बनाई सकेपछी, शिकार खेल्ने हेच्छाकुप्पा एक दिन पासोमा पारी ताबेढुकुर घरमा लिएर आउछ। खानहुने मासु खाई ढुकुरको गाँड घुर्यानमा फाली दिन्छ। त्यहा बिस्तारै बिभिन्न थरि थरिका विरुवाहरु उम्रन थाले र विस्तारै फल्दै झर्दै उम्रिन्दै फैलिन थाले, त्यो फलेको फलहरु समेत विभिन्न चरावुरुङ्गिहरुले खान थाले यो देखेर वाईलुङमाले यो विरुवाको फल खानु पर्दछ। किनकि यो खाएर ढुकुर मरेन अरु मरेन, ढुकुर खाएर हामी मरेनौ भनेर हेच्छाकुप्पा संग जिद्दी कसिन र त्यो फलफुल पहिलो पल्ट उनिहरुले खाए। अन्न खाए पछि उनिहरु बिमारी परे पेट दुखेर थला परेको हेच्छाकुप्पाले खान नहुने कुरा खाएर यस्तो भाको कुरा गरे तर वाईलुङमाले अर्को कारण अघि सारे पितृ पुर्खालाई नचढाई नसम्झि हामिले खायौ, यो भुमिलाई बिर्सियौ त्यसैले हामिलाई दुख भयो। अब बाट नया बाली खानेबेलामा पितृहरु लाई नयाबाली अन्न चढाउने बिधि बिधान गर्न हेच्छाकुप्पा लाई चिण्डोमा सफा पानी संगै नया अन्नहरु लिएर अगेनाको डिलमा बसी पितृ पुर्खा सम्झिन लगाए, हेच्छाकुप्पाले पितृ पुर्खा सम्झिन थालेपछि अचानक कम्पन छुट्यो, मुन्धुम रिसिया गाउन थाले, आसन बाट बेगमा दगुरेर ऊ आगनको डिल छेउमा पुगेर त्यहि स्थानमा उनले चिण्डोको चोखो पानि छर्किन्दै नाच्न थाले त्यहा संगै रहेको वाईलुङमा समेत नाच्न थाले त्यहा पनी तोयामा खियामाले नाचेकै सिलीहरु नाचेका थिए।
👉 त्यहिबाट यसरी नौलाख किरातीहरुमा नया अन्नबालीहरु पितृ पुर्खाहरु र प्रकृतीलाई सम्झि चढाएर खाने चलन रही आएको छ।
साभार- पोष्ट