15/05/2026
तुलसीपुरमा सञ्चालित वन पैदावारमा आधारित उद्यमशीलता कार्यक्रमअन्तर्गत ठेका–ठेकी बनाउने तालिमको आज (शुक्रबार) समापन गरिएको छ।
तुलसी सामाजिक विकास केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत सामुदायिक वनबाट उत्पादित काठका वस्तु तथा हस्तकला सामग्रीसम्बन्धी २५ दिने सीप विकास तालिम सञ्चालन गरिएको थियो।
संस्थाका अध्यक्ष ओद बहादुर भण्डारीको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेको विशिष्ट आतिथ्यतामा तालिमको समापन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खड्काले तालिममा सिकेका सीप व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। उहाँले तालिमपछि व्यावसायिक रूपमा काम गर्ने योजना लिएर समूहगत रूपमा आउने समूहलाई पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीले वडाले भौतिक विकाससँगै मानवीय विकासलाई पनि प्राथमिकता दिएको बताउनुभयो। वडाका महिला दिदिबहिनीलाई आर्थिक रूपमा सक्षम वनाउन विभिन्न सिपमुलक तालिमहरू आगामी समयमा पनि सञ्चालन गरिने बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले तालिमले महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउन मद्दत पुग्ने उल्लेख गर्दै वनमा आधारित उद्यमशीलता अभियानमा स्थानीय सरकारको प्रयास सकारात्मक रहेको बताउनुभयो। साथै, उद्यमीहरूले उत्पादन गरेका सामग्रीको प्रवद्र्धनमा संघ सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो।
त्यस्तै, स्थानीय वन महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महताराले तालिम लिनु मात्र सफलता नभई व्यवहारमा उतार्नु नै वास्तविक सफलता भएको बताउनुभयो। आवश्यक स्रोत सामुदायिक वन नै भए पनि काठजन्य तथा वन पैदावारजन्य वस्तु उत्पादनमा स्थानीय मातहत नहुँदा समस्या देखिएको उहाँले उल्लेख गर्नुभयो। उद्यमशीलताको कार्ययोजना बनाउँदा स्थानीय स्तरमै प्रयोग वा उपलब्ध गराउन सकिने व्यवस्था लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
प्रशिक्षार्थी कमला नेपालीले तालिम उपलब्धिमूलक भएको बताउँदै आगामी दिनमा बजारीकरणका लागि स्थानीय सरकारसँग सहयोगको अपेक्षा रहेको बताउनुभयो।
वैशाख ६ गतेदेखि तुलसीपुर–१९ को देविस्थान मन्दिर परिसरमा सञ्चालन भएको काठको ठेका–ठेकी बनाउने तालिममा ३२ जना महिलाहरूको सहभागिता रहेको थियो। समापन कार्यक्रमको सहजीकरण संस्थाका सदस्य केवि वलीले गर्नुभएको हो ।