26/05/2026
सभामुखको आदेशबिनै मर्यादापालकले बैठक कक्षबाट निकाले कांग्रेस सांसदलाई
सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै मर्यादापालकहरूले प्रतिनिधिसभा बैठक कक्षबाट एक जना सांसदलाई बाहिर निकालेका छन्।
कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले प्रतिनिधिसभा बैठकको फोटो खिचेको निहुँमा मर्यादापालहरूले सांसदलाई बैठक कक्षबाट बाहिर लगेका हुन्।
प्रतिनिधिसभा बैठकका क्रममा कांग्रेस सांसद गीताकुमारी सेन्दाङलाई मर्यादापालकहरूले बैठक कक्षबाट बाहिर निकालेको घटना सार्वजनिक भएको छ।
बैठकको फोटो तथा भिडिओ खिचेको भन्दै मर्यादापालकहरूले उनलाई बाहिर लगेर सामग्री डिलिट गर्न लगाएको बताइएको छ।
सांसद सेन्दाङले आफूलाई बैठकमा फोटो खिच्न नहुने जानकारी नभएको बताउँदै मर्यादापालकहरूले फोटो तथा भिडिओ हटाउन आग्रह गरेपछि आफूले डिलिट गरेको र पुनः बैठक कक्षमा प्रवेश गरेको जानकारी दिइन्।
प्रतिनिधिसभा नियमावलीको नियम ३१ अनुसार सभामुखको आदेश नमानेको अवस्थामा मात्र मर्यादापालक प्रयोग गरी सांसदलाई बैठक कक्षबाट बाहिर निकाल्न सकिने व्यवस्था छ। यसअघि सभामुखले सचेत गराउने र त्यसपछि पनि नमानेमा मात्र बाहिर निकाल्न आदेश दिन सक्ने प्रावधान रहेको उल्लेख छ।
संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भने मर्यादापालकहरूले सभामुखसँग अनुमति लिएरै सांसदसँग भिडिओ हटाउन लगाएको बताएका छन्। उनका अनुसार सांसदले भिडिओ खिचेकाले त्यसलाई हटाउन भनिएको हो।
यसअघि २०७९ साल चैत २१ गते तत्कालीन राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठकका क्रममा मोबाइल बजेको विषयमा सांसदहरूलाई मोबाइल ‘स्वीच अफ’ गर्न निर्देशन दिएका थिए।
❤️❤️