19/05/2026
हलोको आत्मकहानी : एक बिलौना
हरियो डाँडामाथि हलो जोत्ने साथी… हो हो माले… हो हो तारे…
यो गीत सुन्नासाथ आज पनि मेरो पुरानो मन भक्कानिएर आउँछ। जसरी टाढाको कुनै बुढी आमा आफ्नो हराएको सन्तान सम्झेर चुपचाप आँसु झारिरहेकी हुन्छिन्, त्यसरी नै म पनि बितेका दिनहरूको सम्झनामा भित्रभित्रै रोइरहेको छु, आंसु झारीरहेको छु ।
एक समय थियो , म बिना गाउँ अधुरो हुन्थ्यो, जताततै मेरै कुरा हुन्थे, मेरै बयान हुन्थे । म बिना धेरैका पेट खाली हुन्थे, म बिना हरेक घरका धोक्रा, भकारी र कुन्युहरू रित्तै हुन्थे।
म हलो हुँ… कहिल्यै कसैलाई दुःख नदिएको, केवल माटोलाई सुम्सुम्याएर अन्न उमार्ने सपना बोकेको गाउँको पुरानो आधार हुँ, रैथाने प्रविधि हुँ, किसानहरूको सुख दुखको साथी हुँ। म हलीको पसिनासँग बाँचेँ, गोरुको थकाइसँग हिँडेँ, अनि किसानहरू भोकै पेट सुत्न नपरोस् भनेर जीवनभरि माटो चिर्दै हिँडेँ। मैले खेतबारी जोत्दा केवल अन्न फलाएको थिइनँ, मैले त गाउँको जीवन धानेको थिएँ। मेरो फालीले बांझो माटो पल्टाउदा चराचुरुङ्गीहरू पछिपछि आउँथे, माटोभित्रका किराहरू टिप्थे। म धेरै जातका चराहरूको सहारा पनि बनेँ। प्रकृतिसँग मेरो आत्मीय सम्बन्ध थियो। मलाई कही कही त एउटा मात्र गोरुले नि जोत्ने गर्दथे, धेरै जसो ठाउमा २ वटा गोरुले नै जोत्ने गर्दथे । हरेक किसानले एक खेतवाट अर्को खेत , घर गोठवाट बारी सम्म आफ्नो कांधमा मलाई बोकेर हिड्दा मेरो फुर्ती नै अर्कै हुन्थ्यो , संसारकै माया पाउने मध्य म मात्र हुं जस्तो लाग्दथ्यो । मलाई याद छ , रोपाइँका बेला खेतभरि गीत गुञ्जिन्थे, हासो हुन्थ्यो, रमाइलो हुन्थ्यो, खेतका कान्लामा बालबालिका दौडिन्थे। गोरु पनि मलाई चिन्दथे। उनीहरूको पसिना र मेरो काठको गन्ध मिसिएर एउटा आत्मीय संसार बन्थ्यो। हलिले भुटेको मकै, भटमास, साधेको गुन्द्रुक, अंखरामा मोही मजाले खाएको ताजै छ । अझै मकै रोप्ने बेलामा जोत्ने र मकै रोप्ने बिचको कुराकानी झ-झल्ती संझना आउछ । न त मलाई डिजेल, पेट्रोल न त ठुलो खर्च नै आवस्यक थियो। अनौ नै थियो मेरो ठुलो सहारा, अगाडी बढाउने ,फर्काउने ,गहिरो जोत्ने , ठिकै जोत्ने सबै यसैवाट निर्देशित हुन्थ्यो म त्यसरी नै अगाडी बढ्थे ।
म सम्झिन्छु ती ठुल्दाइहरूलाई जसले हलो, हरिस, सोइला, जुवा, ठेडी र अनौ बनाउँथे। जंगलबाट उपयुक्त काठ छानेर ल्याउँथे। काठलाई माया गरेर कुँद्थे । रामो, बसिलो र बन्चरोले आकार दिन्थे। उनीहरूको सीप केवल काम थिएन, त्यो त पुस्तौँदेखि बग्दै आएको ज्ञान थियो, गाउँको आत्मा थियो। तर आज त्यो सीप कहाँ हरायो ? ती हातहरू आज के गर्दै होलान् ? विदेशी शहरका निर्माण स्थलमा पसिना बगाइरहेका होलान् कि बुढेसकालले थला परिसके? मेरो लागि फाली, कोथेफाली र करुवा बनाउने दाजुहरू गाउँमै थिए। उनीहरूको हातमा कस्तो जादु थियो । फलामलाई आगोमा रातो बनाउँदै, हथौडाले पिट्दै, पसिनाले निथ्रुक्क हुँदै मलाई नयाँ जीवन दिन्थे। उनीहरूका हात कालो हुन्थे, तर मन सुन भन्दा उज्यालो। आज ती दाजुहरू कहाँ पुगे होलान् ? जिउँदै होलान् कि समयले उनीहरूलाई पनि म सँगै बिर्सिसक्यो ? मलाई अझ धेरै सम्झना आउँछ साइला दाइहरूको जसले नारा, जोतारो र हल्डुडो बनाउँथे। उनीहरूको काम बिना म अधुरो हुन्थेँ। खेत जोत्न सकिँदैनथ्यो। गाउँको खेती चल्दैनथ्यो। उनीहरू गाउँका साधारण मानिस थिए, तर उनीहरूको सीप असाधारण थियो। कति राम्रो चलन थियो त्यो बेला सबै आफ्नै थियो। आफ्नै पाखाको काठ, आफ्नै गाउँको खेर फालिएका फलाम, आफ्नै हातको सीप, आफ्नै पसिनाको बल। कसैसँग माग्नुपर्दैनथ्यो। मलाई बनाउने हात पनि आफ्नै, मलाई चलाउने किसान पनि आफ्नै। खेतको अन्न पनि आफ्नै। जीवनमा दुःख थिए, तर आत्मसम्मान थियो।
तर आज सबै बदलियो। जंगलका काठहरू सुनसान भए, आरनका आगो निभे, हथौडाको ठकठक आवाज बन्द भयो । सीप सिकाउने बाजेहरू गए, सिक्ने नातिहरू भएनन्। मानिसहरू आधुनिकताको नाममा म देखी धेरै टाढा भए । विदेशी ठूला मेसिन आए, तर आफ्नोपन हरायो। प्रविधि आयो, तर आत्मा हरायो। सुविधा आयो, तर सम्बन्ध हराए। ट्र्याक्टरको आवाजले गोरुको घण्टीलाई चुप गरायो, रोपाइँ गीत हरायो, अनि म सँगै गाउँको पुरानो खुसी पनि बिस्तारै मर्दै गयो। भुटेको मकै, भटमास, साधेको गुन्द्रुक, अंखरामा मोही हरायो । मान्छे र गोरु बिचको माया हरायो ।
म एक्लो भएको छु। म घरको अँध्यारो कुनामा फालिएको छु। मेरो हरिस भाचिएको छ, फाली, करुवामा खिया लागेको छ, अनौ टुटेको छ, जोतारो हल्डुडोमा धमिराले छिया छिया पारेको छ । । पहिला माया साथ किसानको काँधमा बोकिएर खेत पुगेको म, आज कसैले फर्केर पनि हेर्दैन, नयाँले त मलाई हेर्दा नि हेर्दैनन । कहिलेकाहीँ त्यो वृद्ध किसान आउँछन्, मेरो टुटेको शरीरमा हात राख्छन् अनि लामो सास फेर्छन्। उनका आँखा रसाउँछन्। सायद उनलाई पनि महसुस हुन्छ म केवल हलो मात्र थिइन, उनको संघर्षको साथी थिएँ।
म दुखी छु, किनकि मसँगै श्रमको सम्मान हराउँदै गएको छ। म सँगै मेलापात, पर्म र गाउँको सहकार्य पनि हराउँदै गएको छ। पहिले एक अर्काको खेत जोत्न गाउँलेहरू जुट्थे, अहिले मानिसहरू एक अर्काबाट टाढिँदै गएका छन्। कहिले काहीँ म कुनै सुनसान गोठ वा पुरानो टहरोको छेउमा एक्लै पल्टिरहेको हुन्छु। वरिपरि कोही हुँदैन। न मलाई काधमा बोक्ने मानिस देख्छु न त तान्ने गोरु नै । न खेतको चहलपहल, न गोरुको घण्टीको आवाज, न किसानको “हो…हो…” भन्ने मिठो स्वर । त्यतिबेला मेरो मन बेस्सरी रुन्छ। मेरो काठे शरीर चिराचिरा भएझैँ लाग्छ, मुटु नै छिया छिया हुन्छ पुराना दिन सम्झेर।
आज म मानिसहरुसंग अन्तिम विन्ती गर्दैछु मलाई जोगाइदेऊ, मलाई बचाइदेऊ। म केवल एउटा काठ र फलामको साधन होइन, म त गाउँको इतिहास हुँ, पुर्खाको पसिना हुँ, किसानको भरोसा हुँ। मेरो शरीरमा माटोको गन्ध मात्र छैन, बाजे बाजैको दुःख, संघर्ष र आत्मसम्मान गाँसिएको छ। म हराएँ भने केवल एउटा हलो हराउने छैन, रोपाइँका गीतहरू हराउनेछन्, मेलापातको माया र गाउँको आत्मीयता हराउनेछन् । मसँगै हराउनेछ आफ्नै सीपमा बाँच्ने आत्मनिर्भर जीवन। आरनको आगो निभेझैँ, गाउँको आत्मा पनि चिसिँदै जानेछ। नयाँ पुस्तालाई मेरो कथा सुनाइ दिनुहोस्। उनीहरूलाई सिकाइ दिनुहोस् कि माटो जोत्नुलाई केवल खेती भनेर बुझ्न हुँदैन, यो त आफ्नै संस्कृति, आफ्नै इतिहास र आफ्नै अस्तित्व जोगाउने कर्म हो । भनि दिनुहोस् आजका पुस्तालाई म हलो केवल एउटा पुरानो कृषि औजार होइन। म नेपालीपनको चिनारी हुँ, पुर्खाहरूको आत्मा हुँ, गाउँको जीवन हुँ, श्रमको सम्मान हुँ।
५ जेष्ठ,२०८३
काठमाण्डौ
( तिलक ढकाल : अध्यक्ष: रैथाने एग्री प्रडक्ट्स नेपाल : हलोको बिलौना केही सुझाव ,छुट पुराना शब्द भए मलाइ कमेन्ट गरि दिनु हुन मन परे सेयर गरिदिनु हुन।हाम्रो प्रविधी हाम्रो हातमा।)