23/06/2026
हाम्रो समाजमा त्यस्ता केही व्यक्तिहरू हुन्छन्, जसको बोलीमा मिठास मात्र होइन, गराईमा समाजलाई बदल्ने अद्भुत शक्ति हुन्छ। त्यस्तै एउका निष्ठावान् र प्रेरणादायी नाम हो श्याम श्रेष्ठ। चन्द्रागिरी नगरपालिकाका स्थायी बासिन्दा श्याम श्रेष्ठ केवल एक किसान मात्र हुनुहुन्न, उहाँ त यो धर्तीलाई माया गर्ने एक सच्चा अगुवा र अभियन्ता हुनुहुन्छ।
विगत दुई दशक (२० वर्ष) देखि श्याम श्रेष्ठ र उहाँको समूहले एउटा यस्तो बाटो रोज्यो, जुन सुरुमा कठिन थियो तर आज सबैका लागि अनुकरणीय बनेको छ। उहाँहरूले एकीकृत कीरा व्यवस्थापन (IPM) विधि अपनाएर तरकारी उत्पादन गर्दै आउनुभएको छ।
यो बालीमा लाग्ने कीरा, रोग, झारपात तथा अन्य हानिकारक जीवहरूको नियन्त्रणका लागि विभिन्न सुरक्षित, वातावरणमैत्री र दिगो उपायहरूलाई एकीकृत रूपमा प्रयोग गर्ने पद्धति हो। यसमा रासायनिक विषादीको ठाउँमा केवल जैविक र प्राकृतिक विषादीहरू मात्र प्रयोग गरिन्छ, जसले न त मानव स्वास्थ्यलाई असर गर्छ, न त धर्तीको उर्वरा शक्तिलाई नै नष्ट गर्छ।
मानिसहरू बढी नाफा कमाउन रासायनिक विषादीको अन्धाधुन्ध प्रयोग गरिरहेका बेला, श्याम श्रेष्ठले आम उपभोक्ताको स्वास्थ्य रक्षाका लागि "विषादीरहित उत्पादन" को एउटा बलियो खम्बा गाड्नुभयो। तरकारी खेतीसँगसँगै उहाँले प्रकृति र माटोको सन्तुलन मिलाउन निरन्तर मौरीपालन व्यवसाय पनि गर्दै आउनुभएको छ।
श्याम श्रेष्ठ केवल आफैं मात्र सिक्नुहुन्न, आफूले जानेको सीप अरूलाई बाँड्न पनि खप्पिस हुनुहुन्छ। उहाँ एक कुशल प्रशिक्षक हुनुहुन्छ, जसले अनगिन्ती किसानहरूलाई दिगो र सुरक्षित कृषिको कखरा सिकाउनुभएको छ।
उहाँको परिचय केवल कृषिमा मात्र सीमित छैन। नरम स्वभाव, सधैं ओठमा सजिरहने हसिलो मुस्कान, भद्र र मिलनसार व्यवहारका कारण उहाँ जोसुकैको मनमा सहजै बस्न सक्नुहुन्छ। उहाँलाई भेट्ने जुनसुकै व्यक्तिले पनि उहाँभित्रको शालिनता र आत्मीयताको महसुस गर्न सक्छ। उहाँ साँच्चिकै सबैका प्रिय हुनुहुन्छ।
विगत ३ वर्षदेखि रैथाने कृषि हाटबजारमा श्याम श्रेष्ठ एउटा परिचित र सम्मानित अनुहार बन्नुभएको छ। हरेक हप्ता उहाँ आफ्नै खेतबारीमा फलेका ताजा र विषादीरहित तरकारीहरू, शुद्ध मह, केरा, आरु र सिजन अनुसारका रसिला फलफूलहरू लिएर बजार आउनुहुन्छ।
तर, हाटबजारमा उहाँको भूमिका एउटा बिक्रेताको रूपमा मात्र सीमित छैन। उहाँ हाटबजारलाई जीवन्त बनाउने, व्यवस्थित गर्ने र उपभोक्ताहरूसँग भावनात्मक सम्बन्ध जोड्ने एक सक्रिय र मुख्य सदस्य हुनुहुन्छ। उहाँसँग सामान किन्नेहरू ग्राहक मात्र रहँदैनन्, उहाँको व्यवहारले गर्दा परिवारका सदस्य जस्तै बन्छन्।
थप जानकारीका लागि: रैथाने एग्री प्रडक्ट्स नेपाल, धापासी हाइट
01-5917529,9851405837,9851089994